सुरुङ युद्ध गर्न तयार - भट्टराई

८ साउन

काठमाडौं– एकीकृत माओवादीका केन्द्रिय सदस्य एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रियताको मुद्दालाई लिएर सुरुङ युद्ध गर्न तयार रहेको बताएका छन्। सानेपा स्थित निवासमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै भट्टराईले आवश्यक्ता परे माओवादी पुनः सुरुङ युद्धका लागि तयार रहेको उनले बताए।
'युद्धकालमा पनि हामीले राष्ट्रियताको पक्षमा सुरुङ युद्ध गर्न खोजेका थियौ, आवाश्यक पर्‍यो भने फेरि पनि सुरुङ युद्ध गर्न हामी तयार छौं' भट्टराईले भने। माओवादीले राष्ट्रियताको मुद्दा नछोडेको पनि भट्टराईले दाबी गरे।

बीपी पुत्र संशाक कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसहितले राष्ट्रियताको सवालमा पूर्वराजासँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएर गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको बिरोध गरेको उनले आरोप लगाएका छन्। 'बीपीका जेठा छोरा प्रकाश राजावादी हुदाँ इतिहासमा सीमित भए, अर्का छोराले राजतन्त्र चाहिन्छ भनेर सोही बाटो अबलम्बन गर्न खोजेका छन्' भट्टराईको टिप्पणी छ, 'हाम्रा केही पुराना साथीहरु (बैद्यसहित) राष्ट्रियताको सबालमा पूर्व राजासँग सहकार्य गर्नुपर्छ भनेर भन्नु उल्टो बुद्धि हो।'

पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रको देश दौडाहा संविधानसभा चुनाव भाँड्ने उद्देश्यले भइरहेको दाबी गरे। 'बाहिरी रुपमा जे देखाए पनि भित्री रुपमा यो राजनीतिक भ्रमण हो', उनले भने- 'चुनाव विरोधी गतिविध गरिरहेकाले उनलाई जेल हाल्नुपर्छ। म भएको भए थुन्दिथेँ।'

'२४० वर्षसम्म देशमा शासन गर्दा नदेखेको गरिबी, अभाव, बाढी पहिरो अहिले आएर देख्नुमा राजनीतिक अर्थ छ', भट्टराईले भने- 'यो हामीलाई असह्य छ। यसलाई राजनीतिक दलहरु र नागरिक समाजले सचेत गम्भीरता र सचेततापूर्वक लिनुपर्छ। अन्यथा यसले गम्भीर रुप लिन पनि सक्छ।' दलहरु विदेशकी दलाल र राष्ट्रघाती अनि ज्ञानेन्द्रलाई राष्ट्रवादी भनेर प्रचार गर्नुमा कुनै तथ्य नभएको भट्टराईले जिकिर गरे।



केही समययता पूर्व राजा ज्ञानेन्द्र राप्रपा नेपालको भित्री सहयोगमा देश दौडाहामा छन्। पूर्वी तराईका जिल्ला घुम्दै उनले मन्दिर तथा गुम्बाहरुलाई आर्थिक सहयोग गर्दै आफ्ना गतिविधि गर्दै आएका छन्। बाढी पीडितलाई सहयोग गर्न पूर्व राजा हिजो पश्चिमको धनगढी पुगेको विषयले जनमानसमा निकै शंका उत्पन्न गराइदिएको थियो।