दुव्र्यवहारपछि दलित महिला विस्थापित

९ साउन

स्थानीयले कालोमोसो दल्दै जुत्ताको मालासमेत लगाएर सामाजिक अपमान गरेपछि मोरङको बेलबारी–३ की एक दलित महिला मङ्गलबारदेखि विस्थापित भएकी छन् । सानो गल्तीमा दुव्र्यवहार गरेपछि मार्लान् भन्ने डरले घरबाट भाग्नु परेको उनले बताइन् । १२ वर्षीया छोरी र ८ वर्षीय छोरासहित मङ्गलबार घर छाडेर उनी इन्द्रपुर–३ को त्रिवेणी चोकनजिक दिदी मैयादेवी सार्कीको घरमा सरण लिन पुगेकी छन् । बेलबारी बजारस्थित माधव ढकालको होटलमा काम गर्ने उनी अब कामबाट पनि वञ्चित भएकी छन् । उनका श्रीमान् भने वैदेशिक रोजगारमा गएका छन् । २३ वर्षीया ती महिलालाई सोमबार जीवन भेटवालको अगुवाईमा कालोमोसो दल्दै जुत्ताको मालासमेत लगाएर अमानीय व्यवहार गरिएको थियो ।

काठमाडौं स्थित जागरण मिडिया सेन्टरका महासचिव दीपक परियारले मङ्गलबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि स्थानीय गैरदलितको दवाबमा घटना मिलाइएको आरोप विज्ञप्तिमा लगाइएको छ । विज्ञप्तिमा जबर्जस्ती करणी गर्न खोज्ने भेटवाल पक्षधरले ती महिला र पत्रकार मनोज विकलाई कुटपिट गर्दै दुव्र्यवहार गरेको घटनाले दलितप्रति थप अन्याय भएकोले छानविन गर्न माग गरिएको छ । महिलालाई सहयोग गरेको भन्दै पत्रकार विकमाथि पनि अमानवीय व्यवहार गरिएको थियो ।

प्रेस चौतारी मोरङका अध्यक्ष विक्रम लुइटेलले विज्ञप्ति जारी गरी संगठनका सदस्य तथा फाइट साप्ताहिकका कार्यकारी सम्पादक मनोज विकसहितलाई बेलबारी–३ का जीवन भेटवाल, उनका दाजु अमित भेटवाल र कवीन्द्र प्रसाईंलगायतको अगुवाईमा दुव्र्यवहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा सो घटनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा पीडितलाई थप पीडा दिने गरी फोटोसहितका समाचारहरु सम्प्रेषण गरिएकामा त्यस्ता व्यक्ति तथा संस्थाहरुलाई समेत कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरिएको छ ।

पत्रकार मनोजले कुरै नबुझी आफूमाथि आक्रमण र दुव्र्यवहार गर्नु ज्यादै निन्दनीय भएको बताए । ‘कालोमोसो दलेको फोटो सञ्चारमाध्यममा ल्याएर मेरो झनै सामाजिक बेइज्जती भएको छ ।’ उनले भने । महिलाले रिसइवी साध्नमात्र भेट्वालमाथि झूटो आरोप लगाएको जनाएपछि भेटवाल पक्षले महिला, मनोज र मनोजका दाजु अनिल माथि समेत दुव्र्यवहार गरेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगलगायत सरोकारवाला विभिन्न संघसंस्थाले सो घटनाप्रति चासो देखाएका छन् । घटनाको सत्य–तथ्य बुझ्न अधिकारकर्मीहरुको टोली बुधबार घटनास्थल आउने भएको छ । मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै टोलीले घटनाको अध्ययन–अनुसन्धान गर्ने बताइएको छ ।

पत्रकार मनोजले महिला सँग प्रहरी चौकीमा जाने तामाङ र लिम्बू थरकी अन्य दुईजना महिलालाई पनि कुटपिट गरिएको बताए ।