कांग्रेस नेताका घरघरमै कार्यालय

१० साउन - 
राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा लगत्तै ०३६ मा केन्द्रीय कार्यालय खोलेको नेपाली कांग्रेस अहिले ललितपुर सानेपा स्थित बिपीनगरमा आफ्नै भव्य भवनमा केन्द्रीय कार्यालय चलाउँछ । २८ कोठाको तीनतले यो भवन भने प्राय सुनसान रहन्छ । जिल्लाबाट बेलाबेला आइपुग्ने कार्यकर्ता र कर्मचारीबाहेक पार्टी कार्यालयमा नेता–कार्यकर्ता बिरलै झुल्किन्छन्। बाटोसहित ६ रोपनी ८ आना क्षेत्रफलमा निर्मित उक्त कार्यालय प्रयोगविहीनझैँ छ । ११ हजार ४ सय स्क्वायर फिट ओगटेको भवनमा तीन हल, पुस्तकालय, चमेनागृह, प्रेस कोठा बाहेक २८ कोठा छन् । सभापति र पदाधिकारीका लागि अलग-अलग कार्यकक्ष छन् ।

सभापति सहित अधिकांश नेताले कार्यालय प्रयोग गर्न छाडेपछि कार्यकर्ता पनि त्यहाँ जान छाडेका छन् । जिल्लाबाट आउनेहरु पनि कार्यालयमा नेता नभेटिएपछि सोध्दैखोज्दै घरमै पुग्न बाध्य हुन्छन् । पार्टीलाई संस्थागत रुपमा अघि बढाउने उद्घोष गरेका सभापति सुशील कोइराला नै पार्टी कार्यालयमा भन्दा घरमै रमाउँछन् । असार ११ यता उनी कार्यालय गएकै छैनन् । महाराजगन्ज स्थित उनको निवासमा भने बिहानै देखि नेता–कार्यकर्ताको भिड लाग्छ । प्राय उनी बिहान ७ देखि ११ बजेसम्म घरमै कार्यकर्ता र शुभेच्छुक भेट्छन् । पदाधिकारी र नेता–कार्याकर्ताले कोइरालालाई कार्यालयमा नै बसेर भेटघाट गर्न धेरैपटक सुझाए पनि । उपचारका लागि अमेरिका जानुअघि उनी 'अब नियमित कार्यालय बस्छु' भन्दै तीन दिन लगातार सानेपा पुगे पनि। त्यसले निरन्तरता पाउन सकेन । सभापति मात्र होइन, वरिष्ठ नेता शेरबहादुर देउवा पनि बिपी नगर भन्दा बूढानीलकण्ठ स्थित आफ्नै महलमा कार्यकर्ता भेट्न रुचाउँछन् ।

महासमिति बैठकको पूर्वसन्ध्या (२०६९ चैत) मा केन्द्रीय समिति बैठकका लागि कार्यालय गएका देउवा त्यसपछि असार २४ गते मात्र पुगे । सभापति नभएकाले उनी क्षेत्रनिर्धारण आयोगलाई सुझाव दिन पदाधिकारी बैठक गर्न कार्यालय पुगेका थिए। त्यही मौका छोपेर कर्मचारीहरुले स्वकीय सचिव भानु देउवामार्फत देउवालाई नियमित कार्यालय आइदिन अनुरोध गरे । तर उनी फेरि बिपीनगर पुगेका छैनन् । आफू निकट नेताले केन्द्रीय कार्यालयमै बसेर कार्यकर्ता भेट्न आग्रह गरेपछि नेता देउवा एक वर्षअघि तामझाम सहित सानेपा पुगेर अबदेखि नियमित कार्यालय आउने घोषणा गरेका थिए। उनको घोषणा एक साता पनि टिकेन। घरमा भने उनी बिहान नौ बजेपछि दिनहुँ नेता–कार्यकता भेट्छन्। त्यसका लागि उनले निवासमा अलग्गै कोठा छुट्ट्याएका छन्। 

सभापतिलाई भेट्न अधिकांश दिन कोइराला निवास पुग्ने उपसभापति रामचन्द्र पौडेल बिहान केही समयमात्र आफ्नो निवासमा कार्यकर्ता भेट्छन्। महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, रामशरण महत, डा. सशांक कोइरालासहितका नेताको निवासमा कार्यकर्ताको बिहानैदेखि भिड लाग्छ। महामन्त्री सिंहले पनि निवासमै कार्यालय बनाएर कार्यकर्ता भेटघाट गर्ने गरेका छन्। पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य आउन छाडेपछि कार्यालयका कर्मचारीलाई पनि धपेडी छैन। मुख्य सचिवसहित २२ कर्मचारी कार्यरत कार्यालयमा दैनिक कामकाजबाहेक जिल्लामा चिठी पठाउने र विज्ञप्ति जारी गर्ने औपचारिक काममात्रै गरेपुग्छ। पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताले मागेका सिफारिस बनाइदिनेबाहेक कामको चटारो नरहेको कर्मचारी बताउँछन्। 

पूर्वकेन्द्रीय सदस्य बलदेव शर्मा मजगैयाँ नेताहरु कार्यालय नजानुमा कार्याकर्ता पनि जिम्मेवार रहेको बताउँछन्। 'नेताहरुलाई एकै ठाउँमा भेट्दा व्यक्तिगत स्वार्थ पूरा नहुने भएकाले छुट्टाछुट्टै भेट्न घरमै धाउँछन्,' उनले भने, 'नेताहरु पनि त्यसैमा रमाइलो मानिरहेका छन्, यस्तो प्रवृत्ति सच्याउनुपर्छ।'

नेताहरुको व्यस्तता र प्रवृत्तिले कार्यालय प्रयोगविहीन भएको उनले बताए। 'उपलब्धि नभए पनि बैठकहरुमा सहभागी हुनुपर्ने भएकाले नेताहरुमा कार्यव्यस्तता त छ,' उनले भने, 'कतिपय बैठक र भेटघाट कार्यालयमै बसेर गर्न सकिन्थ्यो, त्यो पनि भएको छैन, पार्टी कार्यालयको सदुपयोग हुन सकेन।'

नेतृत्वले निवासलाई पार्टी कार्यालय बनाउन थालेको धेरै भएको छैन। तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई नियमितजसो कार्यालय जान्थे। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि समय मिलाएर कार्यालय पुगिरहन्थे। स्वास्थ्यमा समस्या आउन थालेपछि गिरिजाप्रसादले निवासमा नेता–कार्यकर्ता भेट्न थाले। 

त्यसयता बिस्तारै कार्यालय जानैपर्छ भन्ने मान्यतालाई नै नेताहरुले कुल्चिए ।'किसुनजी, गिरिजाबाबु पार्टी र सरकारको नेतृत्वमा रहँदा पनि मिलाएर कार्यालय पुग्नु हुन्थ्यो,' मजगैयाँले भने, 'अहिले त्यसको क्रमभङ्ग भएको छ।'

उपसभापति पौडेल र महामन्त्रीद्वय भने केही दिन बिराएर कार्यालय जाने गरेको उनको भनाइ छ। 'उपसभापति, महामन्त्रीद्वय त कार्यालयमा देखिनुहुन्छ, सभापति र वरिष्ठ नेता त महिनौंदेखि कार्यालयमा देखिनुभएको छैन।'

केन्द्रीय सदस्य कुलबहादुर गुरुङका अनुसार पार्टीका संस्थापक नेताहरु हरेक दिन मध्याह्न १२ बजेदेखि ३ बजेसम्म कार्यालयमै बसेर मुलुकको राजनीतिक अवस्थाबारे छलफल गर्थे, कार्यकर्ता भेट्थे। 
गिरिजाप्रसाद कोइरालाले अस्वस्थ हुँदामात्र निवासमा भेटघाट र बैठक गरेको सुनाउँदै गुरुङले गुनासो गरे 'सभापति सुशील कोइराला त स्वस्थ हुँदा पनि कार्यालय जानुहुन्न।'

कार्यकर्तालाई घरमै भेट्ने चलनले चाकरी र चाप्लुसी बढाएको उनी बताउँछन्। ''पहिले घरमा नेताहरु भेटिँदैनथे, अहिले कोही कार्यालय जाँदैनन्,' उनले भने, 'घरमै कार्यकर्तालाई बोलाएर नेताले चाकरी गराउने मात्र काम भइरहेको छ।'

कांग्रेसले कार्यालय खोलेयता अहिले मात्रै नेतृत्वले कार्यालयलाई बिर्सिएको नेता पुरुषोत्तम बस्नेतले बताए। 'दलमाथिको प्रतिबन्ध फुकुवा भयो, नेपाली कांग्रेसले २०३६ को जनमतसंग्रहपछि पार्टी केन्द्रीय कार्यालय स्थापना गर्‍यो,' बस्नेतले भने, 'बिपीदेखि सबै नेता नियमित कार्यालय जानुहुन्थ्यो।' यसअघि पार्टी कार्यालयमै बसेर नेताहरुले भेटघाटका साथै पार्टीका काम गर्ने गरेको सुनाउँदै बस्नेतले सबै भेटघाट र बैठक कार्यालयमा नै हुने गरेको सम्भि्कए। 'अहिलेजस्तो कार्यालय ठूलो थिएन तर पनि उहाँहरु दिउँसोको समय कार्यालयमै बिताउनुहुन्थ्यो,' उनले भने, 'घरमा नेता तथा कार्यकर्ता भेट्नै हुन्न भन्ने होइन, तर घरमा धेरै कार्यालयमा कम हुनु राम्रो होइन।'

नेताहरु बस्न र काम गर्न कार्यालय चाहिएको भन्दै नेता नै नगए कार्यालयको औचित्य नहुने उनले बताए।
सभापति कोइराला, वरिष्ठ नेता देउवाका साथै पार्टी पदाधिकारीलाई मात्र केन्द्रीय कार्यालयमा कोठा छुट्ट्याइएको छ। अन्य नेता बस्न छुट्टै कोठा छैन। नियमितजस्तै कार्यालय जाने गरेका पूर्व उपसभापति गोपालमान श्रेष्ठ वरिष्ठ नेता देउवाको कोठामा बस्ने गरेका छन्। देउवाको कोठा यसअघि उपसभापतिकै कार्यकक्ष थियो। कोइरालाको उपस्थितिबिना सभापतिको कार्यकक्ष खुल्दैन। सभापति कोइरालाले जेठ ५ गते विभागलाई पूर्णता दिएपछि महिनौंदेखि केन्द्रीय कार्यालय नपुगेका केन्द्रीय सदस्यले पनि कार्यालयमा छुट्टै कोठा माग गरे। केही केन्द्रीय सदस्य अहिले पनि कोठाका लागि तँछाडमछाड गदर्छन्। 

उपसभापति रामचन्द्र पौडेलले प्रशिक्षण प्रतिष्ठान विभागका लागि छुट्टै कोठा चाहिने भन्दै सँगैको कोठामा आफ्नो सचिवालय बनाएका छन्। संगठन विभागप्रमुख आनन्दप्रसाद ढुंगानाले पनि कोठा लिएका छन्। त्यस्तै, विदेश विभागप्रमुख सुजाता कोइराला र उद्योग विभागप्रमुख दीपकुमार उपाध्यायले त आफ्नो कार्यकक्ष आकर्षक बनाउन फर्निसिङ नै सुरु गरेका छन्। सुजाताले छानेर कोठा लिएकी हुन्। 'विदेश विभागका लागि पहिला अर्कै कोठा छुट्याएका थियो,' कार्यालयका एक कर्मचारीले सुनाए, 'विदेशीसँग भेट्नुपर्छ, सानो कोठाले हुन्न, एटेच–बाथरुमसहितको कोठा चाहिन्छ भन्नुभयो।'

चार विभागका प्रमुखहरुले कार्यालयका कोठाहरु प्रयोग गरेपछि अन्य ३८ विभाग, १४ अञ्चल र एक उपत्यका संयोजकले पनि कोठाको दाबी गर्दै आएका छन्। कार्यालयमा काम गर्ने केही कर्मचारीले पनि आफ्ना लागि छुट्टै कोठा हुनु पर्ने माग गर्दै आएका छन्। 

१२औं महाधिवेशनअघि सुशील कोइरालाले ऐलान गरेका थिए, 'पार्टीलाई संस्थागत रुपमा अघि बढाउँछु, व्यक्ति होइन, संस्थालाई प्रधान बनाउँछु। व्यक्ति मरेर जान्छ, तर संस्था रहिरहन्छ, तपाईंहरु व्यक्तिको होइन, संस्थाको बन्नुहोस्।' अहिले कार्यालयसमेत प्रयोग गर्न छाडेका कोइरालालाई यो घोषणा कसले सम्झाइदेला ?

स्रोत: नागरिक

,