‘दलित’ दुव्र्यवहारको घटनामा ६ जना पक्राउ

१० साउन

मोरङको बेलबारी–३ स्थित करमडाडामा दुईजना ‘दलित’ माथि सोमबार भएको दुव्र्यवहार तथा कुटपिटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । प्रहरीले जीवन भेटवाल, अमित भेटवाल, सावित्रा भेटवाल, अम्बिका भेटवाल, कमला भेटवाल र चन्द्रकला भेटवाललाई नियन्त्रणमा लिएको हो ।

बदनाम गराउने नियत राखेर आफ्नो अनुमतिविना सम्पादन नगरिएको आफ्नो तस्विर सामाजिक सञ्जाल फेसबुक मार्फत् सार्वजनिक गरेको भन्दै पीडित पत्रकार मनोज विकले स्थानीय पत्रकार नरेन्द्र बस्नेत विरुद्ध प्रहरीमा उजुरी गरेका छन् । बेलबारी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिलीप गिरीले साइबर अपराध अन्तर्गत उनीमाथि कारवाही हुने बताए ।

मोरङको बेलबारी–३ स्थित करमडाडामा दुईजना ‘दलित’ माथि भएको दुव्र्यवहार तथा कुटपिटको घटनाबारे विभिन्न अधिकारकर्मी संघसंस्थाका प्रतिनिधिले बुधबार स्थलगत अध्ययन गरेका छन् । घटनामा बेलबारी–३ की एक ‘दलित’ महिला तथा अर्का स्थानीय पत्रकार एवम् ‘दलित’ अगुवालाई सोमबार कुटपिटका साथै दुव्र्यवहार गरिएको थियो । मानवअधिकारको गम्भीर उल्लङ्घन भएका तस्विर र समाचार सार्वजनिक भएपछि अधिकारकर्मी संघसंस्थाका प्रतिनिधि, दलित अधिकारकर्मी तथा पत्रकारहरुले स्थलगत अध्ययन गरेका हुन् । घटनास्थल पुगेर टोलीले घटनामा संलग्न महिलाहरुलाई भेटेर जानकारी लिएको थियो भने घटनापछि विस्थापित पीडित महिलाई उनकी दिदीको घरमा पुगेर भेटेको थियो । उनलाई आफ्नै घरमा पुन:स्थापित गराउन अधिकारकर्मीहरुले प्रहरीसमक्ष अनुरोध गरेका थिए । उनी अहिले इन्द्रपुरस्थित आफ्नी दिदीको घरमा बस्दैछिन् । टोलीमा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वाञ्चल संयोजक कोषराज निरौला, ओरेकका लोकनाथ नेपाल, एडभोकेसी फोरमका विकास बस्नेत, अधिकारकर्मी देवि बास्कोटा, मन्जिता उपाध्याय, इन्सेकका दीपेन न्यौपाने र रेडीएफका उमेश विकलगायत विभिन्न दलित संघसंस्थाका प्रतिनिधि र पत्रकारहरु थिए । प्रेस चौतारी सुनसरी, प्रेस युनियन सुनसरी र रिपोर्टर्स क्लब सुनसरीले बुधबार संयुक्त विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।