भट्टराईलाई कारवाही गर्ने शिब सेनाको चेतावनी

१० साउन

पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पीडितलाई राहत बाँडेकै कारण पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उहाँलाई जेल हाल्नु पर्ने अभिब्यक्ति दिएको भन्दै शिब सेना नेपालले त्यसमा माफी माग्न भट्टराईलाई आग्रह गरेको छ ।
भट्टराईले तत्काल माफी माग्नु पर्ने भन्दै शिब सेना नेपालले माफी नमाग्दासम्म भट्टराईलाई निगरानीमा राख्ने र कारवाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमा गरी शिब सेनाले भट्टराईले तत्काल माफी माग्नु पर्ने अन्यथा भट्टराईको हरेक गतिविधिहरुलाई मध्य नजर राख्दै गतिविधि अनुसारको कारवाही गर्ने चेतावनी दिएको हो ।
शिव सेना नेपालका महासचिव माधवप्रसाद भण्डारीले बाढी पहिरोले आक्रान्त भएका नागरिकलाई राहत वितरण गर्न जाँदा अङ्कुश लगाउने खोज्ने भट्टराई जनविरोधी र राष्ट्रघाती भएको आरोप लगाउँदै पूर्व राजालाई जेल हालेर देखाउन चुनौती दिनुभयो ।
नेपाल बार एसोसिएसनका कोषाध्यक्ष एवम् शिवसेना नेपालका उपाध्यक्ष राजकुमार थापाले डा. भट्टराईको अभिव्यक्ति संविधान विपरित भएको दावी गर्दै कानुनको कठघरामा उभ्याउन कानुनी प्रकृया अगाडि बढाउने चेतावनी दिनुभयो ।
ओम रक्षा बाहिनीका उपप्रमुख महावीरसिंह खड्काले राजसंस्था र हिन्दूधर्मको विरुद्ध बोल्ने बाबुरामलगायत सबैको प्रतिकार गर्ने घोषणा गर्दै त्यसलाई एक एक गरेर कारवाही गर्ने चेतावनी दिनुभयो ।
गत मंगलबार आफ्नै निवासमा पत्रकारसित कुरा गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले पूर्व राजाको गतिविधिको भण्डाफोर गर्नु पर्ने बताउनुभएको थियो ।