चलचित्र कलाकार कल्याण कोषका लागि रकम दिइन्छ : रेग्मी

साउन १०

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चलचित्र कलाकार कल्याण अक्षयकोषका लागि विगत वर्षमा झैं यस वर्ष पनि सरकारले रकम प्रदान गर्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले कोषका लागि रु एक एक करोड प्रदान गरेका थिए ।

हाल सो कोषमा रु तीन करोडसहित कलाकारबाट सङ्कलित रु चालिस लाखलगायत रु  तीन करोड चालिस लाख जम्मा भइसकेको छ । वर्तमान सरकारले कोषका लागि रु एक करोड प्रदान गर्नुपर्ने माग गर्दै कलाकार वसुन्धरा भुसालको अगुवाइमा गएको प्रतिनिधिमण्डलाई अध्यक्ष रेग्मीले आज सिंहदरबारमा  सो जानकारी दिएका हुन् ।

अध्यक्ष रेग्मीसँगको करिब आधा घन्टाको भेटपछि कलाकार भुसालले अध्यक्ष रेग्मीले अक्षयकोषमा विगत झैँ यस वर्ष पनि रकम प्रदान गर्ने  जानकारी दिइन् ।   कलाकारलाई आपत्विपद् परेका समयमा सो कोषबाट आर्थिक सहायत प्रदाना गर्न चलचित्र विकास बोर्डसँगको समन्वयमा सो कोषको स्थापना सात वर्षअघि भएको थियो । हालै मात्र आफ्नो जन्मघर नेपाल आएका कलाकार उदितनारायण झाले सो कोषका लागि रु पाँच लाख प्रदान गरेका थिए ।

भेटपछि बोर्डका अध्यक्ष धर्मेन्द्रकुमार मर्वेताले भने, "देशका गहनाका रुपमा सम्मान पाएका कलाकार भोकभोकै नपरून् र उनीहरुलाई आपत्विपत् परेका समयमा आर्थिक सहयोग प्रदान गर्न सकियोस् भन्नाका लागि कोष स्थापना भएको हो ।"  कोषले हालै आफ्ना दुवै मिर्गाैलामा समस्या देखापरी ओम अस्पतालमा उपचारत कलाकार शिव रेग्मी र सगरमाथा सफलतापूर्वक आरोहरण गर्न सफल कलाकार अर्जुन कार्कीलाई उपचारार्थ रु दुई दुई लाख प्रदान गरेको थियो । कलाकार कार्कीको सगरमाथा आरोहरणका क्रममा नौ औँलामा चोट लागेको थियो ।

कलाकार करिश्मा मानन्धरले कलाकारको आर्थिक पक्ष अत्यन्त कमजोर हुने हुँदा बिरामी भएको समयमा केही सहयोग पुर्‍याउन सकियोस् भन्नु नै कोषको ध्येय रहेको बताइन् ।  अध्यक्ष रेग्मीलाई भेटपछि अति प्रफुल्ल मुद्रामा निस्कनुभएका कलाकार मानन्धनले भनिन्, "अध्यक्ष रेग्मी त कलाकारको पीडा सुनेर चिन्तित मात्र बन्नुभएन, तत्काल हाम्रा मागलाई सम्बोधन गर्ने जानकारीसमेत दिनुभयो ।"

विभिन्न रोगबाट पीडित भई उपचार गराइरहेका विभिन्न कलाकारलाई कोषले मासिक वृत्तिका रुपमा रु पाँच हजार प्रदान गरिरहेको छ । बोर्डका प्रवक्ता अनुपम निरौलाका अनुसार यसरी मासिक वृत्ति प्राप्त गर्ने कलाकारमा हरिप्रसाद रिमाल, जयनन्द चन्द ठाकुर, पवन मैनाली, दीपक ढकाल, दीपक क्षेत्री, उद्धवराज भट्टराई, सुभद्रा अधिकारी र भुवन चन्द  रहेका छन् ।

कलाकार भुसालले कला कलाका लागि नभई जीवनका लागि हो भन्ने कुरा भावी पुस्तालाई हस्तान्तरण गर्न र कलाकार आफ्नै कलामै बाँच्न सक्छन् भन्ने  सिकाउन कोषले सेतुका रुपमा काम गर्ने बताइन् ।

यसैबीच अध्यक्ष रेग्मीसँग निजामती कर्मचारी श्रीमती सङ्घले पनि भेटघाट गरेको छ । रासस