रेडक्रसका उपमन्त्री जबर्जस्ती करणीको अभियोगमा पक्राउ

१२ साउन

नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका उपमन्त्री गिरिजा दाहाल आफ्नै गाउकी एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बुधबार राति पक्राउ परेका छन् ।

जिल्लाको ताङ्खुवा गाविस–७ चुलचुली बजारमा कस्मेटिक पसलसागै काठको ठेक्कापट्टा गर्ने दाहालले तेलिया गाविस–४ घर भएकी २२ वर्षीया कम्पकुमारी (नाम परिवर्तन) लाई धनकुटाको हिले बजारस्थित गुम्बा होटलमा जबर्जस्ती करणी गरेको अभियोग लागेको छ ।

पीडित कम्पकुमारीले पाथिभरा सामुदायिक वन तेलियाको खोटो संकलनको लागि लागत पेश गर्न जिल्ला वन कार्यालय आएर फर्कने क्रममा होटलमा बास बस्दा करणीमा परेको बताएकी छिन् । खोटो संकलनको लागि पाथीभरा सामुदायिक वनको सचिवको हैसियतले साउन ६ गते धनकुटा आएको उनले बताइन् । साउन ८ गते लागत पेश गर्ने काम सकेर घर फर्कने बेलामा गाउाकै आफ्नो बाबुसरहको गिरिजा दाहालसाग जिल्ला वन कार्यालयमा भेट भएपछि दाहालको मोटरसाइकलको पछि बसेर घर फर्कने क्रममा हिलेमा पुग्दा पानी परेको र रात पनि परेकोले होटलमा बास बसेको उनले बताइन् । बास बस्ने क्रममा होटलमा दाहालले दुईवटा कोठा बन्दोबस्त गरेको भन्दै आज यही बसौं, केही हुदैन भनेपछि आफू त्यहीं बसेको उनले बताइन् ।

‘होटलमा खाना खाइसकेपछि सुत्नको लागि कोठामा जादा एउटा मात्र कोठा थियो, म तपाईको कोठामा सुत्दिना, अन्तै सुत्छु भन्दा दाहालले म तिम्रो बाबुसरहको मान्छे मलाई के शंका गर्छौ केही हुदैन ढुक्क भएर बस्नु भने’, कम्पकुमारीले बताइन् । तर राति १० बजेतिर एउटै बेडमा सुतेको बेला दाहालले जबर्जस्ती करणी गर्न खोजेपछि प्रतिकार गर्दा पनि ज्यान मार्ने धम्की दिदै जे पनि हुन्छ भनेर घाटी ङ्याकेर जबर्जस्ती गरेको कम्पकुमारीले बताइन् ।

घटनापछि राति १२ बजे आफू भागेर शौचालयमा लुकेको र दाहालले खोज्दै आउदा साढे २ बजेसम्म शौचालयमा नै बसेको समयमा होटलका अन्य मान्छेले पनि थाहा पाएपछि शौचालयबाट बाहिर आएर फेरि कोठामा पसी भित्रबाट चुकुल लगाएको कम्पकुमारीले बताइन् । त्यसपछि कोठाभित्र बसेर आफन्तलाई फोन गरेपछि राति साढे ३ बजे हिले प्रहरी चौकीबाट प्रहरीको गस्ती टोली आएपछि मात्र कोठाको चुकुल खोलेको उनले बताइन् । कोठामा ताला लगाएपछि बाहिरै बसेका दाहालले घटनाबारे हल्ला नगर्नू, जति भए पनि पैसा दिन्छू भनेको उनले बताइन् ।

प्रहरी हिरासतमा रहेका दाहालविरुद्ध जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा बिहीबार मुद्दा दायर भइसकेको जिप्रकाका इन्स्पेक्टर वासुदेव चौधरीले बताए । उनले जबर्जस्ती करणी दफा ३ अनुसार अदालतले ६ वर्षदेखि ७ वर्षसम्म पीडकलाई जेल सजाय र पीडितलाई क्षतिपूर्तिको दिलाउन सक्ने कानुनी व्यवस्था रहेको बताए ।

प्रहरी हिरासतमा रहेका दाहालले आफू र ती युवती एउटै बेडमा बसेर कम्युनिष्ट नेता पुष्पलालको जीवनी पढ्दै गर्दा झकाएर अचानक अङ्गालो हाल्न पुगेको भन्दै प्रहरीसमक्ष बयान दिएका छन् । दाहालले घटना घटेको विषयमा प्रहरीमाझ आफ्नो गल्ती भएको स्वीकारेका छन् । पीडित युवतीले भने जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी सहित बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छिन् ।