विद्यालय पोसाकको दुरुपयोग गर्नै प्रहरी फन्दामा,आचारसंहिता "थ्रीएमबी"


१२ साउन:

विद्यालय पोसाकमा होटेल, रेस्टुराँ, मल, पार्क, डिस्को, सिनेमा हल जस्ता सार्वजनिक स्थलमा जाने विद्यार्थी माथि अब प्रहरीले निगरानी गर्ने भएको छ । उपत्यकाका तीन जिल्ला र काभ्रेमा पनि निगरानी थालिएको हो । उच्च माध्यमिक शिक्षा परिषद्ले त्यसका लागि प्रहरीसँग सहकार्य गर्ने भएको छ । अनुगमनका निम्ति पहिलो चरणमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको समितिका सदस्य तथा नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।

'युनिफर्ममै एक्लै वा जोडाजोडी बाँधिएर हिंडेको वा सार्वजनिक स्थलमा अश्लिलता प्रदर्शन गरेको पाइएमा प्रहरी प्रशासनले नियन्त्रणमा लिनसक्ने निर्णय भएको छ,' भण्डारीले  भने,'नियन्त्रणमा लिएपछि सम्बन्धित छात्रछात्राका अभिभावकलाई बोलाएर जिम्मा लगाउनु पर्नेछ ।'प्रहरीको फेलापरेकालाई पहिलो पटक सचेत गराएर अभिभावकलाई जिम्मा लगाउने र दोस्रो पटक फेलापरे जरिवाना गरिने छ । तेस्रो पटक पनि फेलापरेका विद्यालयले विद्यार्थीलाई कारबाही गर्नसक्ने छ ।

परिषद्ले उच्च माध्यमिक विद्यालय संघ (हिसान), अभिभावक संघलगायतको अनुरोधमा गत वर्ष आचारसंहिता निर्माण गरेको हो ।माध्यमिक तथा उच्च माध्यमिक तह कक्षा ११ र १२ मा पढ्दै गरेका विद्यार्थीलाई लक्षित आचारसंहिता कार्यान्वन कडाइसाथ गरिने परिषद्ले जनाएको छ ।

आचारसंहिताले 'थ्रीएमबी' अर्थात् मिनिस्र्कट, मोबाइल र मोटरसाइकलमाथि विशेष निगरानी राख्ने भनेको छ। जसअनुसार छात्राले स्कर्ट लगाएमा घुँडा दुई इन्ची छोपिने हुनुपर्ने, छात्रछात्राले चुज पाइन्ट लगाउन नपाउने, कम्मरमा मिलेको हुनुपर्ने भनेको छ ।

स्रोत: अन्य पत्रीका 

,