भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, कुखुरा मार्न सुरु

१२ साउन:

भक्तपुर,सिपाडोल– ९ स्थित हिमाल पोल्ट्री बिर्डिङ फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि आज बिहानदेखि कुखुरा मार्न सुरु गरिएको छ। प्रभात पसखलको फार्ममा पालिएका नौ हजार ५०० कुखुरामा बर्डफ्लु लागेपछि पाँच हजार ५००  मरेर बाँकी भएका चार हजार ५०० नष्ट गर्न थालिएको पशुसेवा कार्यालय भक्तपुरले जानकारी दिएको छ।  

कुखुरा नष्ट गर्न पशुसेवा निर्देशनालय त्रिपुरेश्वर र भक्तपुर पशुसेवा कार्यालय भक्तपुरका प्राविधिक टोली खटिएका छन्। मरेका र मारिएका कुखुरा गाड्न स्काइभेटरसमेत लगिएको छ। गत सातादेखि पसखलका फर्ममा दैनिक ४०० देखि ५०० सम्म कुखुरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले अनुगमन गरी यही साउन ८ गते कुखुरा परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो। परीक्षणका क्रममा शुक्रबार उक्त फर्ममा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाका डा. विजयकान्त झाले जानकारी दिए । 

बर्डफ्लु फेला परेको प्रारम्भिक अनुसन्धानले देखाए पनि यसलाई पुष्टि गर्न  पुनः परीक्षण गर्दा बर्डफ्लुको सङ्क्रमण फेला परेको यकिन भएको उनले बताए। प्रयोगशालाले बर्डफ्लु भएको पुष्टि गरेपछि प्राविधिक, श्रमिक र औषधिको अभावले गर्दा शुक्रबार कुखुरा नष्ट नगरी आज बिहान मात्र कुखुरा मार्ने निर्णय गरेको थियो। बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि भएपछि जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठक बसेर आज मात्र कुखुरा मार्ने निर्णय गरिएको कार्यालयका प्राविधिक डा.रामपरीक्षण साहले जानकारी दिए।

फर्मका कुखुरा मारिने भएपछि सो क्षेत्रलाई घेराबन्दी गरी पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ। बर्डफ्लुको सङ्क्रमण मानिसमा हुँदैन भन्दै साहले कुखुराका मासु पाक्ने गरी पकाएर मात्र खान सुझाव दिए। यसअघि पनि भक्तपुरका मनोहरा र बोडेमा पालिएका कुखुरामा बर्डफ्लु फेला परेको थियो।

स्रोत: अन्य पत्रीका 

,