अरनिको राजमार्गमा अवरोध
१२ साउन
आफ्ना सहकर्मीको रिहाईको माग गर्दै ट्रक मजदुरहरुले आज अरनिको लोकमार्ग अवरुद्ध गरेका छन्। वन्य जन्तुको अङ्ग तस्करीको अभियोगमा केही महिना अघि पक्राउ परेका सिन्धुपाल्चोक साँगा चोकका सुरजकुमार श्रेष्ठको रिहाईको माग गर्दै ट्रक मजदुर सङ्गठनहरुले आज बिहानैदेखि अरनिको लोकमार्ग अन्तर्गत सिन्धुपाल्चोकको चेहेरेमा अवरोध पुर्याएका हुन्।
विदेशीलाई भगाई नेपाली चालक माथि झुठो मुद्दा लगाएर पक्राउ गरिएको भन्दै यातायत मजदुर सङ्गठन अरनिको रुट ट्रक एकाइ समिति लगायतका मजदुर सङ्गठनद्वारा गरिएको लोकमार्ग बन्दबाट यात्रुहरु मारमा परेका छन्।
सडक अवरोधका कारण राजधानीबाट दोलखा, सिन्धुपाल्चोकको बाह्रबिसे, तातोपानी तथा रामेछापका लागि छुटेका र ती जिल्लाबाट राजधानीका लागि छुटेका सवारीसाधन र सयौँ यात्रु बीचबाटोमै रोकिएका छन्।
सिन्धुपाल्चोक प्रहरीका अनुसार अवरोध सुचारु गराउने प्रयास भइरहेको छ।


