दक्षिण कोरियासँग वार्ता गर्न उत्तर कोरियाको प्रस्ताव
उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव राखेका छन् । नयाँ वर्ष ०१५ को अवसरमा किमले दिएको शुभकामना सन्देशमा यो वार्ताको प्रस्ताव राखेका हुन् ।
तर, उच्चस्तरीय वार्ताका लागि किमले सर्त राखेका छन् । ‘पार्क ग्युन हायले हाम्रा सर्त मानेको खण्डमा हामी वार्तामा बस्न तयार छौँ,’ किमले आफ्नो सन्देशमा भनेका छन् ।
उता दक्षिण कोरियाले यो प्रस्तावलाई सकारात्मक रूपमा लिएको र यसले दुई देशबीचको सम्बन्ध सुधार्नेमा विश्वास गरेको जनाएको छ । ‘यो दुवै देशका लागि राम्रो हुने प्रस्ताव हो,’ दक्षिण कोरियाका अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन्, ‘हाम्रो सरकार पनि उत्तर कोरियासँग वार्ता गरी मतभेद समाधान गर्ने पक्षमा छ ।’
यसअघि सोमबार दक्षिण कोरियाले उत्तर कोरियाली अधिकारीसँग दुवै देशका कुनै पनि सहरमा भेटेर वार्ता गर्न तयार भएको प्रस्ताव गरेका थिए । बिहीबार सम्बोधनमा किम जोङ उनले दुई कोरिया बाँडिएकाले धेरै समस्या भएको र संयुक्त रूपमा अगाडि बढ्न नयाँ कार्ययोजना तर्जुमा गर्नुपर्ने बताएका छन् ।
तर, किमले पछिल्लो समय केही विषयमा अमेरिकासँग सहकार्य गरी उत्तर कोरियालाई अविश्वास गरेकाले वर्ताको वातावरण बनाउन दक्षिण कोरियालाई अनुरोध गरेका छन् । उनले अमेरिकासँग मिल्दै गए दक्षिण कोरियाले पनि नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । किमले दक्षिण र उत्तर कोरिया मिल्नका लागि दुवै देशले थप पहल गर्नुपर्ने पनि बताएका छन् ।
‘अमेरिकासँग मिलेसम्म उत्तर र दक्षिणको मिलन सम्भव छैन,’ किमले सम्बोधनमा भनेका छन्, ‘हामी दुई देश मिल्न सके मात्र विश्वमा नयाँ प्रभाव जमाउन सकिन्छ ।’
यसभन्दा पहिले फ्रेबुअरी २०१४ मा दुई कोरियाबीच उच्चस्तरीय वार्ता भएको थियो । दक्षिण कोरियाले बीचमा स्थगित भएको वार्ता सुरु गर्ने प्रयास पनि गरेको थियो । तर, उत्तर कोरियाले त्यसमा कुनै प्रतिक्रिया दिएको थिएन । यो मुद्दामा कोरियाली युद्धका क्रममा छुट्टिएका परिवारलाई फेरि मिलाउने मुद्दा पनि सामेल थियो ।


