त्रिवि र विद्यार्थी संगठनको लडाइँले विद्यार्थी मारमा
काठमाडौं, १७ पुस । त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनको विवादका कारण विद्यार्थीहरूले म्याद सकिन लाग्दासमेत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको प्रवेश परीक्षा फारम भर्न पाएका छैनन् । त्रिविले २० पुससम्मका लागि फारम भर्ने म्याद तोकेको थियो । तर, विद्यार्थी संगठनहरूको अवरोधका कारण फारम भर्न नपाएपछि विद्यार्थीहरू अन्योलमा परेका छन् ।
अघिल्लो वर्ष केन्द्रीय विभागमा मात्र सुरु भएको सेमेस्टर प्रणालीलाई त्रिविले यस वर्षबाट उपत्यकाभरका आंगिक क्याम्पसमा विस्तार गर्दै छ । आंगिकमा स्नातकोत्तर तहमा सेमेस्टर अनिवार्य भए पनि निजी क्याम्पसहरूलाई भने स्वेच्छिक रूपमा छाडिएको छ ।
स्नातकोत्तर सेमेस्टर प्रणालीमा लैजान त्रिविले गरेको निर्णय उल्टाउन विद्यार्थी संगठनहरूले आंगिक क्याम्पसमा फारम वितरण ठप्प पारेका छन् । त्रिवि भौतिक पूर्वाधारविना नै सेमेस्टरमा जाँदा ठूलो दुर्घटना हुने भन्दै संगठनहरूले निर्णय फिर्ता लिन त्रिविलाई दबाब दिइरहेका छन् । तर, त्रिविका पदाधिकारीले भने सेमेस्टरमा जाने निर्णय नउल्टने अडान लिइरहेका छन् ।
त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच बिहीबार वार्ता भए पनि कुनै सहमति हुन सकेन । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले छलफलमा कुनै सहमति नभएको बताए । ‘सेमेस्टर प्रणालीमा लैजाने कुरामा हाम्रो पनि सहमति हो, अहिले कुनै तयारी नगरी हचुवामा सेमेस्टरमा लैजाँदा विगतको जस्तै खारेज हुने अवस्था आउन सक्छ, त्यसैले पूर्वाधार बलियो बनाएर जाऔँ भन्ने हाम्रो अडान हो,’ प्रवक्ता लामिछानेले भने । उनले त्रिवि पदाधिकारीसँगको बैठकमा कुनै सहमति नभएकाले अन्योल झनै बढेको बताए । विद्यार्थीहरूले यो वर्ष तयारी गरेर अर्को वर्ष सेमेस्टरमा लैजान प्रस्ताव गरेका छन् ।
डीन कार्यालयले भर्नाको कार्यक्रमसमेत तय गरिसकेको छ । उपत्यकाका क्याम्पसमा २४ मंसिरदेखि २० पुससम्ममा प्रवेश परीक्षाको फारम वितरण गर्ने, २९ र ३० पुसमा प्रवेश परीक्षा लिने, ४ देखि १५ माघसम्ममा विद्यार्थी भर्ना गर्ने र १८ माघदेखि कक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ । प्रवेश परीक्षा फारमको शुल्क एक हजार रुपैयाँ तोकिए पनि भर्नाशुल्क भने सार्वजनिक गरिएको छैन ।
त्रिविमा वार्षिक प्रणालीको परीक्षा नियन्त्रण कार्यालयबाट र सेमेस्टरको डीन कार्यालयबाट परीक्षा लिने व्यवस्था छ । त्रिविले सेमेस्टर प्रणालीमा सञ्चालन हुने स्नातकोत्तर तहको प्रवेश आवेदन फारमको शुल्क एक हजार रुपैयाँ तोकेको छ । विद्यार्थी संगठनले भने त्रिविलाई निजीकरण गर्न लागेको भन्दै विरोध गरेका छन् ।


