वल्र्ड रेकर्ड राख्ने तयारीमा शंकर
म्युजिक भिडियो मोडल, कोरियोग्राफर तथा अभिनेताका रूपमा समेत चर्चित शंकर बिसी गिनिजबुकमा नाम लेखाउने चक्करमा लागेका छन् । अहिलेसम्म लोकदोहोरी र आधुनिक गीतका गरी साढे १६ सय म्युजिक भिडियो निर्देशन र नौ सय बढीमा अभिनय गरिसकेका उनी आफूलाई वल्र्ड रेकर्ड राख्न योग्न ठान्छन् ।
‘यो संसारमै मैले जति धेरै म्युजिक भिडियो निर्देशन र अभिनय गरेको दोस्रो मान्छे छैन रे,’ शंकर भन्छन्, ‘ त्यही भएर गिनिजबुकमा नाम लेखाउने प्रक्रियामा लागेको हुँ ।’
हिरो बन्ने सपना थियो उनको । त्यसैले नेपालगन्जका शंकर सुर्खेतमा सिएमए पढ्दापढ्दै ०५१ सालमा भागेर काठमाडौं आए । ‘सानैदेखि नाच्न–गाउन भनेपछि हुरुक्कै हुन्थे,’ उनी सम्झिन्छन्, ‘सिएमए पढ्छु भनेर सुर्खेत गएँ । केही महिनापछि काठमाडांै टाप ठोकेँ ।’ काठमाडौं आएपछि कलाकार कसरी बनिन्छ भन्ने भेउ पाउनै गाह्रो भएछ । बाटो पहिल्याउँदै जाँदा नृत्यनिर्देशक कमल राईकोमा पुगे र त्यहीँ डान्स सिक्न थाले । बिस्तारै उनी फिल्मकर्मीको संगतमा पुगे । त्यसपछि थुप्रै फिल्ममा कोरस डान्सर भई काम गरे । कोरस डान्सर हुँदाहँुदै उनले डान्स सिकाउन र फिल्ममा सहनृत्य निर्देशकको काम पनि पाउँदै गए । ‘बहुत संघर्ष गरेँ,’ उनले भने, ‘एकातिर पढाइ थियो, अर्काेतिर हिरो बन्ने सपना । तर, बिस्तारै म डान्समै व्यस्त भएँ ।’
उनी ०५८ सालमा झन्डै हिरो बनेका, नारायण पुरीले निर्देशन गर्न लागेको पण्डित बाजे फिल्ममा । ‘देशमा संकटकाल लाग्यो । त्यसपछि त के–के भो–भो,’ उनले सम्झिए, ‘एउटा हिरोमा म फिक्स भइसकेको थिएँ । तर, पछि त्यो फिल्म नारायण सरले निर्देशन गर्नुभएन । अरूले नै निर्देशन गरे । त्यो फिल्ममा मलाई लिइएन ।’
आफूले सोचेकै कुरा त कहाँ हुन्थ्यो र ? शंकर लागे म्युजिक भिडियो अभिनय, निर्देशन र फिल्मको नृत्यनिर्देशनतिर । ‘त्यसपछि त म बिजी भएँ, अरू काममा लाग्नै पाइनँ,’ उनले भने, ‘एकसँगै अर्काे गरी मैले अभिनय, निर्देशन गरेका म्युजिक भिडियो हिट हँुदै गए । मेरो डिमान्ड बढ्दै गयो । मलाई भ्याइनभ्याई भयो ।’
बीचमा उनी बेरोजगार नामक फिल्ममा हिरोका रूपमा देखा परे । तर, त्यो फिल्मले मुनाफा कमाएन । त्यसपछि उनमा हिरो बन्ने सोच नै हराएछ । तर, आफूलाई चित्त बुझ्दो र दमदार रोल भए स्वीकार्न पछि नपर्ने उनी बताउँछन् ।
शंकरले अहिलेसम्म पाँच दर्जन बढी फिल्मी गीतको नृत्य–निर्देशन गरिसकेका छन् । हरेक दिनजसो उनी सुटिङमै व्यस्त हुने गर्छन् । भारतीय अभिनेता गोविन्दाको डान्सबाट प्रभावित शंकर अब फिल्म निर्देशनमा पनि उत्रन लागेको बताउँछन् । ‘वैशाखमा सुवास रेग्मी सरको फिल्म निर्देशन गर्दै छु, अहिले स्क्रिप्टिङ भइरहेको छ,’ उनी भन्छन्, ‘दुई दशकदेखिको कलाकारिताको अनुभव खन्याउँदै छु ।’
कलाकारिताबाटै ‘सबथोक’ पाइरहेको बताउने शंकर गिनिजबुकमा नाम लेखाउन सफल हुनेमा विश्वस्त छन् । ‘मलाई लाग्छ, मैले जति पनि काम गरेको छु, त्यो सायदै अर्काे व्यक्तिले गरेको होला । त्यसैले वल्र्ड रेकर्ड रहने कुरामा विश्वस्त छु ।’ उनले आफूले रेकर्ड राख्ने उद्देश्यले काम नगरेको, तर काम गर्दै जाँदा रेकर्ड राख्न योग्य भएको बताउँछन् । ल, शंकरलाई अग्रिम शुभकामना †


