नेपाललाई हिन्दु राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन : थापा

काठमाडौं, १८, पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माघ ८ मा संविधान जारी नभए तेस्रो जनआन्दोलन हुने बताएका छन्। राप्रपा नेपालको मेची-महाकाली संकल्प रथयात्रा राजधानीको खुलामञ्चमा समापन कार्यक्रममा बोल्दै थापाले भने ,'माघ ८ मा संविधान जारी गर्नुस् नत्र अब तेस्रो जनआन्दोलन हुनेछ।'

हिन्दु राज्य हुनुपर्ने लगायतका मागसहित सुरु भएको रथयात्राको समापनमा बोल्दै थापाले अब नेपाललाई हिन्दु राष्ट्र बन्नबाट कसैले रोक्न नसक्ने पनि बताएका छन्। उनले रथयात्राको क्रममा लाखौं जनताले हिन्दु राष्ट्रको समर्थन गरेको बताउँदै यो समर्थन कथित जनयुद्धका लागि ठूलो जनसमर्थन रहेको दाबी गरे। उनले नेपाली जनताले भोट हालेर धर्म निरपेक्षता स्थापित नगरेको तर यसलाई आयातित मान्यता भएको बताए।

उनले यो रथयात्राले नेपाली जनतामा हिन्दुत्वको मान्यतामा जागृत गराएको बताए। उनले केही विदेशी शक्तिको दबाब र प्रभावमा परेर, पैसाको खोलो बगाएर हिन्दु धर्ममाथि आक्रमण भइरहेको भन्दै थापाले आपत्ति जनाए। धर्म निरपेक्षताको नाममा देशमा विकृति तथा प्रदुषण फैलिएको आरोप लगाउन पनि थापा पछि परेनन्। उनले राप्रपा नेपालले त्यही प्रदुषण सफा गर्ने मात्र काम गरेको बताए।

उनले युवालाई आफ्नो पहिचानका लागि सतर्क हुन आह्वान गर्दै भने, 'यो पूजा वा कर्मकाण्डको कुरा मात्र हैन, पहिचानको कुरा हो। तपाइँहरु आफ्नो पहिचान र भावी पुस्ताको पहिचानको लागि जागरुक हुनुस्।' हिन्दुत्वको पक्षमा लाखौं जनता पहिलोपटक सडका उत्रेको उनले बताए।

थापाले राप्रपा नेपालले धर्मको नाममा राजनीति गर्न खोजेको भन्ने आरोपको खण्डन गरे। 'यदि नेपाली राष्ट्रियता र पहिचानको निम्ति आवाज उठाउनु राजनीति हो भने, त्यो राजनीति गर्दा हामीलाई गौरवको अनुभूति हुन्छ,' थापाले भने, 'हामीले हीनतावोध गर्नु जरुरी छैन।' उनले केही राजनीतिक दलले बिदेशीको दबाब र प्रभावमा परेर नेपाली जनताको अभिमत बिना नै हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पारेको र धर्म निरपेक्षता लादेको आरोप लगाए। 'यदि धर्मको नाममा कसैले राजनीति गरेको छ भने त्यो धर्म निरपेक्षताको वकालत गर्ने राजनीतिक दल र तिनका स्वार्थी नेताले गरेका छन्,' उनले भने।

धर्म निरपेक्षताको वकालत गर्नेहरुप्रति थापा कडा रुपमा उत्रिए। 'यदाकदा केही विद्वानहरुले यस्तो पनि भन्ने गर्नुभएको छ, राज्यको पनि कहीं धर्म हुन्छ र? धर्म भनेको त व्यक्तिको चाहनाको कुरा हो, आस्थाको कुरा हो,'  उनले भने, ' ती विद्वानहरुलाई म निवेदन गर्न चाहान्छु, एकपटक विश्वको इतिहास हेर्नुस्-संसारमा ७० भन्दा बढी देश इसाइ धर्म सापेक्ष हुँदा राज्यको धर्म हुन मिल्ने, ४० भन्दा बढी देशको इस्लाम धर्म सापेक्ष हुँदा राज्यको धर्म हुन मिल्ने,  अनि विश्वभरीका १ अर्ब ८ करोडको एउटा मात्र हिन्दु देश नेपाल हुँदा राज्यको पनि धर्म हुन्छ? भनेर प्रश्न गर्ने?'

उनी यत्तिमै रोकिएनन्। उनले अझ कडा बोल्दै भने, ' या त तपाइँहरु विश्व इतिहासबाट अनभिज्ञ हुनुहुन्छ या त विदेशीको डलरको नैतिक वन्धनमा तपाइँहरु हुनुहुन्छ।'

प्रत्येक धर्माबलम्बीले आफ्नो धर्ममा गर्व गर्नुपर्ने बताए। 'म प्रत्येक हिन्दु, प्रत्येक बुद्धिष्ट, प्रत्येक इसाई लगायत सबै धर्माबलम्बीलाई आफ्नो धर्ममा गर्व गर्न सिक्न आग्रह गर्छु,' थापाले भने।

,