साउदी अरेबियामा आममाफीको समय ४ महिना थपियो
१८ असार,रियाद,
अबैधानिक रुपमा साउदी अरबमा बसिरहेका बिदेशी कामदारलाई आममाफी दिने समय चार महिना बढेको छ । आममाफी प्रकृयामा सामेल हुन साउदी सरकारले दिएको समय यही बिहीवार अन्त्य हुन लागेको थियो ।
साउदी राजा अब्दुल्लाहले आम माफीको समय ४ महिना थप गरि दिएको साउदी समाचार एजेन्सीहरुले मंगलबार जनाएका छन् । म्याद थप सँगै साउदीको आन्तरिक मामिला तथा श्रम मन्त्रालयले अबैधानिक रुपमा साउदी अरबमा काम गरिरहेका बिदेशी कामदारलाई आम माफी प्रकृयामा सामेल हुन पुनः अपिल गरेको छ । नयाँ घोषणा अनुसार सन् २०१३ नोभेम्बर ४ तारिख सम्म अबैधानिक कामदारलाई आम माफी प्रकृयामा सहभागी हुने समय पाएका छन् ।
साउदी अरबमा करिव ७० हजार नेपाली अबैधानिक रुपमा काम गरिरहेको अनुमान गरिएको छ । त्यसमध्ये आधाजसो आममाफी प्रकृयामा सामेल भइसकेको साउदी स्थित नेपाली राजदूतावासले जनाएको छ । रोजगार स्रोत मुलुकहरुले आम माफीको अबधि कम भएको भन्दै बढाउन माग गरेपछि साउदी राजाले यस्तो घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी सरकारले अबैधानिक रुपमा काम गरिरहेका बिदेशी नागरिकलाई स्वदेश फर्किने वा साउदीमै बैधानिकरुपमा काम गर्ने अवसर दिएको छ ।
स्रोत : अन्य पत्रीका

