नेपाल-कतार श्रम सम्झौता परिमार्जन हुने


नेपाल-कतार बिशेष


नेपाल र कतार बीच भएको श्रम सम्झौता परिमार्जन गर्न दुई देशका उच्च अधिकारी बीच आगामी साता दोहामा वार्ता हुँदै छ । कतारसँग श्रम सम्झौता भए यता दुई पक्षबीच वार्ताहरू हुन सकेको थिएन । पटक-पटक रद्द हुँदै आएकोमा यसपालि जुन २६ र २७ गते तय भएको छ ।

नेपाली राजदूत मायाकुमारी शर्माका अनुसार नेपाल सरकारले नेपाली कामदारको सुरक्षा लगायतका नौ बुँदामा बैठकमा छलफल केन्दि्रत हुनेछ । 'यो वार्तामा सहभागी हुन नेपालबाट श्रम तथा रोजगार मन्त्रालयका श्रम सम्बन्ध महशाखाका प्रमुखको नेतृत्वमा वार्ता टोली यहाँ आउँदै छ,' उनले भनिन्, 'जसमा वैदेशिक रोजगार विभागका महानिर्देशक, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन ।'

श्रम सम्झौतापछि दुई देशबीच सम्पन्न श्रम सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न हरेक वर्ष 'प्राविधिक टोली' को बैठक बस्ने भनिएको थियो । तर, यो अझैसम्म एकपटक पनि बसेको छैन । 'सन् २००५ यता दुई देशबीच श्रम सम्झौताको बारेमा वार्ता हुन सकेको थिएन,' राजदूत शर्माले भनिन्, 'बल्ल यसको मिति टुंगो भएर छलफल गर्ने निश्चित भएको छ ।' यसअघि २०१० मा बस्ने भनेर एजेन्डासहित टुंगो लागेको थियो । तर, त्यो सरेपछि गत नोभेम्बरमा बस्ने भनिएको थियो । त्यतिखेर पनि समयको अभाव भन्दै बस्न सकिएको थियो ।

'यसपालि २०१० मा तय गरिएकै एजेन्डामै छलफल हुनेछ', राजदूत शर्माले भनिन्, 'यसमा विषयहरू थपिन पनि सक्छन् ।'

दूतावासका अनुसार बैठकमा दुवै देशका तर्फबाट आ-आफ्ना एजेन्डा राखिनेछन् । 'हाम्रातर्फबाट श्रम सम्झौतामा परिवर्तन गर्नका लागि कतारमा कामदार ल्याउने कानुनी प्रक्रिया, दक्ष तथा उच्च दक्ष कामदार ल्याउनेमा जोड, महिला कामदार सम्बन्धमा, द्विपक्षीय सूचना आदानप्रदान, श्रमिक हितको विषयमा छलफल हुनेछ,' शर्माले भनिन्, 'भगुवा कामदारलाई दिने आममाफी, डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीको जानकारी, एक्जिट पेपर नदिनेजस्ता एजेन्डा छन् ।'

ई-कान्तिपुर

,