अब पार्किङ शुल्क नतिरी सुख छैन !!
पोखरा बिशेष
कहिले एलजी ग्रुपको नाममा पार्किङ शुल्क उठाउन बसेकाहरु धम्क्याउँछन्, कहिले युथ फोर्सको अझ भन्ने हो भने युवा संघको हवला दिन पनि पछि पर्दैनन्, कहिले बहिरा युवाहरुलाई परिचालन गरी कुरै गर्न नपाईने गरी शुल्क तिराउन बाध्य पारिन्छ, हुँदाहुँदा अहिले पार्किङ शुल्क उठाउन युवतीहरुको प्रयोग भईरहेको छ । कर जसले जहाँ जे भनेर सक्छ उठाई रहेको छ ।
पोखरा उपमहानगरपालिका कर उठाउँछ तर करको सदुपयोग कहिल्यै गर्दैन । पार्किङ शुल्कको नाममा यतिबेला नेकपा एमाले सम्वद्ध युवा संघका केही नेताहरुले टेण्डर पारेर कर उठाईरहेको भन्ने सुनिन्छ । हिजो पार्किङ शुल्क उठाउनेले सडकमा जेब्रा क्रसिङ बनाई दिनु पर्ने, ट्राफिक लाईट जो यतिबेला ध्वस्त भईसके तिनीहरुको मर्मत सम्भार गर्नुपर्ने लगायतका धेरै शर्तहरु राखिएको थियो । तर आज कर उठाउनेले केही शर्तको पालना गर्नुपर्दैन ।
एउटै मात्र शर्त लागू हुन्छ, बढि भन्दा बढि रकम कसरी उठाउन सकिन्छ । पार्किङ शुल्कका विषयमा अब नगरपालिकाले सोच्नै पर्ने बेला आईरहेको छ । पार्किङ शुल्कबाट उठाईएको रकम कति यो देशको ढुकुटीमा जान्छ र कति ती ठेक्कापट्टा गर्ने महाशयहरुको पोल्टामा पुग्छ ? यही हिसाब किताब सार्वजनिक गरेर मात्र अब पोखरेलीहरुले कर तिर्नुपर्छ । तर विवश छन् पोखरेली १० रुपैयाँको लागि विवाद भन्दा मुक्ति चाहन्छन् र पैसा तिर्न विवश छन् । आखिर कहिलेसम्म ?


