यार्सागुम्बामा कालोबजारी

रुकुममा यार्चा सकंलनका लागि टेन्ट टाँगेर बसेका सर्वसाधारण

संखुवासभा:


पत्याउनै गाह्रो हुने गरी मूल्य अकाशिएको यार्सागुम्बाको कालोबजारी हुन थालेको छ । यार्सागुम्बा प्रतिकिलोग्राम १५ लाख रुपैया सम्ममा किनबेच हुने गरेको भए पनि कम उचाइमा पाइने यार्सा प्रतिकिलोग्राम ८० हजार रुपैयामै किनबेच हुन थालेको छ ।


दिनानुदिन मूल्य अकाशिएपछि यार्सागुम्बाको माग पूरा गर्न नसकिएको व्यापारीहरुले बताएका छन् । तर संखुवासभाको १ हजार मिटरसम्ममा पाइने नक्कली यार्सागुम्बा भित्रिएर प्रतिकिलोग्राम ८० हजार रुपैयामा खरिद–बिक्री हुने गरेको हो । असली यार्सागुम्बा ३ हजार ५ सय मिटरभन्दा माथिको हिमरेखा आसपासमा मात्र पाइने भए पनि १ हजार मिटरसम्मको उत्तिस, तीतेपाती र अलैंचीको फेदमा पाइने कीरालाई सक्कली यार्सासाग मिसावट गरी खरिद–बिक्री गर्ने गरेको पाइएको हो । यार्सागुम्बाको जस्तै आकृति र लार्भा नै भएकाले दुरुस्त यार्सा जस्तै देखिने गरेको छ । कम उचाइको यार्सा आकृतिको कीरा बजारमा प्रतिगोटा ८ रुपैयामा खरिद हुने गरेको छ ।

सक्कली यार्सा भने मकालु बेसक्याम्प क्षेत्रको ३ हजार मिटरमाथिको खोङमा, ठूलोपोखरी, सानोपोखरी, गुरासे, बिप्लटे, संखुवाशिर लगायतका क्षेत्रमा पाइने गरेको छ । प्रत्येक वर्ष कुटो कोदालोको प्रयोग गरी यार्सा संकलन हुने गरेपछि हिमरेखा आसपासमा यार्सा पाइन छाडेको छ । व्यापारी वाङछे शेर्पाले यस वर्ष कम मात्रामा यार्सा पाइएको बताए । यार्सा खोजीका लागि हिमाल आसपास पुगेका स्थानीयबासी दिनमा ५ वटासम्म पनि संकलन गर्न नसकेको भन्दै फर्कन थालेको शेर्पाले जनाए । तर कम उचाइमा पाइने यार्सा भने मनग्य मात्रामा पाइने र दैनिक ३ सय वटासम्म संकलन गर्ने गरेको पाइएको छ । जलजला–२ तेर्सैका लछिरी शेर्पाले दिनमा ३ सय वटा संकलन गरी स्थानीय व्यापारीलाई प्रतिगोटा ८ रुपैयाका दरले बिक्री गरेको बताइन् ।

उता यस वर्ष संकलन इजाजत दिने मकालु बरुण राष्ट्रिय निकुञ्जले भने संकलनका लागि ५ किलोग्राम मात्र अनुमति दिएको जनाएको छ । अघिल्ला वर्षहरुमा ६५ किलोग्रामसम्म निकासी पुर्जी दिने गरेको निकुञ्जले यस वर्ष संकलनका लागि पुर्जी लिन नआएको बतायो । उता संखुवासभाको १ हजार मिटर उचाइको मत्स्यपोखरी, चिचिलाबजार, जलजला आसपासमा भेटिएको नयाँ यार्सागुम्बा स्थानीयबासीले वन विभाग र मन्त्रालयमा पठाएको थिए । विभागले उच्च हिमाली क्षेत्रको हिमरेखा आसपासमा मात्र पाइने यार्सा हानिकारक भएको जनाएको थियो । यार्सा वर्षेनि ६ महिनासम्म हिउ पर्ने क्षेत्रमा पाइने जडिबुटी भए पनि यो वर्ष हिउ नपर्ने क्षेत्रमा पाइएको छ । यार्सागुम्बा समुद्री सतहबाट ३ हजारभन्दा माथिको उचाइमा पाइने गरेको विज्ञहरुको अनुसन्धानले देखाएको छ । यसरी २ हजार मिटरको उचाइमा पाइएबाट यो सक्कली यार्सा नभएको जिल्ला वन कार्यालय र मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

हिउमा पाइने यार्सा मात्रै बढी उपयोगी हुने गरेको छ । यो वर्ष तल्लो भेगमा समेत तीतेपाती, ऐंसेलु र उत्तिसमा यार्सा भेटिएको हो । कम उचाइमा पाइएको यार्सा हिमाली क्षेत्रमा पाइने यार्साभन्दा भिन्न छ । कम उचाइमा भेटिएको यार्सा बिक्री–वितरणबाट स्थानीय बासिन्दाले लाखौं रुपैया आम्दानी गरिसकेका छन् । पश्चिमी जिल्लाहरुमा यार्सा खाएर मानिस बिरामी परेपछि यहा यार्सा प्रयोगको लागि उच्च सतर्कता अपनाउन प्रयास थालिनु पर्ने भन्दै नागरिक समाजले सम्बन्धित निकायलाई चासो देखाउन अनुरोध गरेको छ । नक्कली यार्साले गरेर सक्कली यार्साको बजार घट्ने भन्दै यसको किनबेच परीक्षणपछि मात्रै गरिनु पर्ने उनीहरुले माग राखेका छन् । जिल्लामा मकालु बरुण राष्ट्रिय निकुञ्ज र वन कार्यालयसाग मात्र संकलन अनुमति लिएर यार्सा संकलन गरिन्छ ।

-छेटु शेर्पा

,