रक्तचन्दन तस्करीमा संलग्न एमाओवादी नेता पक्राउ
१५ असार:
रसुवागढी नाकाबाट चीन निकासी हुन लागेको अवस्थामा
प्रहरीले ठूलो परिमाणको रक्तचन्दनसहित एकीकृत नेकपा माओवादी रसुवाका जिल्ला
सेक्रेटरीलगायत सातजनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान साढे १ बजेको समयमा सीमा
प्रहरी चौकी टिमुरेले ३९ थान गोलिया रक्तचन्दनसहितको कन्टेनर पक्राउ गरेको हो ।
ना ३ ख ७१५८ नम्बरको कन्टेनरको फल्स बटम (कन्टेनरको भित्री भाग) मा लुकाई केरुङ
निकासी गर्न लागिएको अवस्थामा प्रहरीले कन्टेनरलाई नियन्त्रणमा लिएको हो । प्रहरी
निरीक्षक शैलेन्द्र रेग्मीको नेतृत्वमा रहेको प्रहरी टोलीले सो रक्तचन्दन बरामद
गरेको हो ।
चाउचाउ, मैदा र खुर्सानी लिएर शुक्रबार राति
रसुवागढी पुगेको कन्टेनरमा शंका लागि चेकजाँच गर्दा ३९ थान गोलिया रक्तचन्दन
भेटिएको रसुवाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘घटनाबारे थप
अनुसन्धान भइरहेको छ,’ घिमिरेले भने, ‘थप अनुसन्धानपछि मात्र सबै कुरा बाहिर आउँछ
।’ जिल्ला सेक्रेटरी माधव लामिछानेसहित काठमाडौंका धु्रव पराजुली र विकेश रिमाललाई
भने स्काई होटल स्याफ्रुबेंसीबाट नेपाली सेनाको अहिद्रमन गणबाट खटिएको टोलीले
पक्राउ गरेको थियो । लामिछानेसँगै बास बसेका माओवादी पूर्वलडाकू रुद्र तिमल्सिना
फरार भएको सेनाले जनाएको छ । बा४१प ९६५ नम्बरको मोटरसाइकलसहित सोही होटलबाट पराजुली
र रिमाल पक्राउ परेका हुन् ।
जिल्ला सेक्रेटरी लामिछानेले रक्तचन्दन रसुवागढी
पु¥याएर स्याफ्रुबेंसीको स्काई होटलमा बास बसेको अवस्थामा पक्राउ गरिएको सेनाले
जनाएको छ । सीमा सुरक्षा प्रहरीले टिमुरेस्थित रसुवागढी नाकाबाट गाडीसहित चालक
रामेछाप ठोसे–१ का धनबहादुर तामाङ, गाडीका मालिक धुन्चे–१ का २५ वर्षीय
वीरेन्द्रसिंह तामाङ, सिन्धुपाल्चोक तातोपानीका २८ वर्षीय लाले तामाङ र
सिन्धुपाल्चोक घोर्थलीका २८ वर्षीय पूर्णबहादुर खड्कालाई पक्राउ गरेको छ ।
नेपाली सेना अहिद्रमन गण स्रोतका अनुसार रक्तचन्दन
ओसार–पसारमा मुख्य अभियुक्त रहेको आधारमा लामिछाने पक्राउ परेका हुन् । माओवादी
जिल्ला नेता लामिछाने मुख्य तस्करको रूपमा नेपाली सेनाले समातेपछि उनलाई तत्काल
छाड्न सेनालाई एमाओवादीका केन्द्रीय नेताहरूको दबाब आइरहेको स्रोतले जनाएको छ ।
टिमुरे नाकाबाट पक्राउ परेका व्यक्तिहरूको आधारमा माओवादी नेता लामिछाने पक्राउ
परेको हुन । बरामद गरिएका रक्तचन्दन चीनमा २ करोड रुपैयाँ पर्ने अनुमान
गरिएको छ । विगतमा रक्तचन्दन ओसार–पसारमा सेनाको संलग्नता भएको भन्दै बदनामी भएकाले
पनि तस्करी नियन्त्रणका लागि नेपाली सेनाले जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने
जनाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी घिमिरेले शनिबार
बिहानै टिमुरे नाकामा पुगेर रक्तचन्दन बरामद गर्ने प्रहरी टोलीलाई धन्यवाद दिँदै
पुरस्कारको समेत घोषणा गरेका थिए । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चीन निकासी
गर्न नसकेपछि सो रक्तचन्दन नुवाकोट हुँदै रसुवा भित्रिएको अनुमान गरिएको छ ।
नुवाकोट र रसुवाका एक दर्जन प्रहरी चौकी र धुन्चेमा रहेको लाङटाङ राष्ट्रिय
निकुञ्जको सुरक्षा बेसक्याम्प पार गरेर शुक्रबार नै सो ट्रक नुवाकोट र रसुवा दुई
जिल्ला पार भएको अनुमान गरिएको छ । सो रक्तचन्दन शुक्रबार बिहान काठमाडौंबाट लोड
गरेर ल्याइएको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरी स्रोतको भनाइ छ ।
त्रिशूली–धुन्चे सडक खण्ड अन्तर्गत रसुवाको राम्चेमा वर्षाका कारण सडक अवरुद्ध हुने र
खुलाउने क्रम जारी रहेको अवस्थामा दुई दिनअघि मात्र सो सडक खण्ड सञ्चालन भएको थियो
।
स्रोत: राजधानी


