कतारका राजाद्वारा छोरालाई सत्ता हस्तान्तरण

१५, असार

कतारका प्रभावशाली राजा शेख हमद विन खालिफ अल थानीले आफ्ना ३३ वर्षे छोरा युवराज शेख तामिम विन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरेका छन् ।

मंगलबार बिहान आफ्नो छोरालाई नयाँ राजा घोषणा गर्दै टेलिभिजनबाट उनले कतारमा राष्ट्रिय विदा दिए । नयाँ राजा घोषणा भएपछि कतारमा काम गर्न गएका झण्डै चार लाख भन्दा वढि नेपालीले भोलिका दिनमा आप्रवासी कामदारको विषयमा राजाले के गर्ने हुन् भन्ने जिज्ञाषा र कौतुहलता भने रहेको छ ।

म कहिल्यै पनि व्यक्तिगत कारण शक्तिमा रहन नचाहेको इश्वरलाई मात्र थाहा छ,” राष्ट्र नेतृत्वबाट बाहिरिदै राजाले भने, ‘राष्ट्रका लागि यो इतिहासको नयाँ पाना हुनेछ ।” ६१ वर्षे राजाले गद्दी त्याग्दै ३३ वर्षे छोरालाई सत्ता सुम्पेका हुन् ।

२०२२ मा विश्वकप फुटबलको आयोजक समेत रहेको मुलुकमा नयाँ राजा पाएको विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । मानिसहरु पूर्व राजाको योगदान प्रति धन्यवाद र नयाँलाई स्वागत गरिरहेका छन् ।

कतारमा व्यवसाय संचालन गरिरहेका एन आर एन ए का पूर्व उपाध्यक्ष सागर नेपालले कतारका राजाले देखाएको उदारतालाई नेपालले पनि पाठ सिक्नु पर्ने बताएका छन् । कतारमा रहेका कामदारले भोलिका दिनमा पनि नयाँ राजावाट नेपालीलाई सहयोग आइरहने अपेक्षा गरेका छन् ।

यता कतारमा कार्यरत नेपालीहरुले पनि आ–आफ्नो फेसवुक मार्फत नयाँ राजालाई स्वागत गरेका छन् । नेपालीहरुले भनेका छन्–‘ छोटो समयमा विश्वमा धनी देश वनाउन सफल कतारमा नयाँ राजाले अझ माथि पुर्याउने शुभकामना छ ।’

स्रोत: अन्य पत्रीका बाट

,