सिद्धार्थ विकास बैंकका अध्यक्ष पक्राउ

काठमाडौं, १६, असार
 
जम्को प्रकाशन प्रालीलाई बदनियतपूर्ण रुपमा ऋण दिएको अभियोगमा सिद्धार्थ विकास बैंकका अध्यक्ष शेखर अर्याललाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ। जग्गा धितोमा जम्कोलाई दिएको १३ करोड ऋणमा बैंकलाई हानी पुर्‍याउने गरी बढी मुल्यांकन गराउने निर्णय पक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको देखिए पछि उनलाई अनुसन्धानका लागी पक्राउ गरिएको व्युरोले जानकारी दिएको छ।
'अहिलेसम्मको अनुसन्धानमा जम्कोलाई गरिएको ऋण प्रवाहमा अर्यालको संलग्नता खुलेकाले अनुसन्धानका लागी पक्राउ गरेका हौं' व्युरोका प्रमुख डिआइजी प्रकाश अर्यालले नागरिकन्युजलाई भने।

जम्कोलाई गरिएको ऋण प्रवाहको अनुसन्धानकोक्रममा व्युरोले यस अगाडिनै ऋण लिने गौरी ढकाल र किशोर खनाल र ऋण प्रवाहमा संलग्न देखिएका सिद्धार्थ विकास बैंकका सञ्चालक मधुसुदन सिलवाललाई पक्राउ गरिसकेको छ। जम्कोको नाममा ऋण प्रवाह गर्न राखिएको जग्गाको वास्तविक मुल्यांकन ६ करोड भए पनि बढाएर २५ करोड बनाई १३ करोड ऋण स्विकृत गरिएको खुलेपछी राष्ट्र बैंक कारवाहीमा उत्रिएको थियो।

राष्ट्र बैंकको आग्रहमा व्युरोले गौरी र खनाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा सिलवाल समेत संलग्न देखिए पछि उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। डिआइजी अर्यालले सो प्रकरणबारे अनुसन्धान जारी रहेको र संलग्नता खुल्नेहरुलाई पक्राउ गर्दै जाने बताए।
 
स्रोत : अन्य पत्रीका

,