पैंचो माग्दा पनि पाइँदैन पानी
सिरहाको बस्तीपुर गाविसका शुक्रामपुर, पक्कीटोल र सरस्वतीका बासिन्दाले मध्य वर्षायाममा पनि पिउने पानीको अभाव झेलिरहेका छन् । गाउका प्राय: इनार, कल सुकेपछि स्थानीय ३ सय ५० भन्दा बढी घरधुरीका जनता दुई किलोमिटर दक्षिणतिर पर्ने डण्डा टोलबाट पानी ओसार्न बाध्य भएका छन् । ‘छिमेकीले पौचो माग्दा चामल दिन्छन् तर घरको कामधन्दा छोडेर ल्याएको पानी कसैले पनि दिन मान्दैनन्’, स्थानीय विजय यादवले गाउको समस्या सुनाए ।
डण्डा टोलका डम्बर यादवको निजी कलबाट पानी लगे बापत् मर्मत सम्भारका लागि गाउलेकै सल्लाहमा हरेक घरधुरीले मासिक रूपमा १ सय रुपैया दिन थालेको यादवले बताए ।
हिउद लागेदेखि दैनिक बिहान ५ बजेदेखि नै एक घण्टाको बाटो हिडेर पानी ओसार्नु पर्ने दिनचर्या जस्तै बनेको सरस्वतीबाट पानी लिन आएका मानवीर यादवले सुनाए । यादवकै छिमेकी विकास न्यौपानेले कुखुरा फार्म र छ जनाको परिवारका लागि एकजना त दिनभरि नै पानी ओसार्न खटिनुपर्ने बताए ।
गाउलेहरूले पानीको समस्या झेल्नु परेपछि सिरहा जिल्ला विकास समितिले दिएको ३५ हजार रुपैया अनुदान रकमबाट वडा नं. ३, इटाभट्टामा मोटर जडान गरिए पनि विद्युत् भार कटौतीले भनेको बेलामा पानी नपाइने भएपछि गाउलेहरू छिमेकी गाउबाट पानी ओसार्न बाध्य भएका हुन् । (रासस)

