आमाबाबु गुमाएपछि तीन बालिका बेसहारा बने

तेजाब खन्याएर घाइते पारिएकी शनिश्चरे–६ बिर्तामोडकी एक महिलाको शनिबार मृत्यु भएपछि तीनजना बालिका अनाथ बनेका छन् । गत फागुन २० गते घरमा सुतिरहेको अवस्थामा केही युवाले तेजाब खन्याउदा ३६ वर्षीया गोमादेवी रिमाल र उनीसागै सुतेकी सात वर्षीया कान्छी छोरी सख्त घाइते भएका थिए । अनुहार लगायत शरीरका बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी रिमालको उपचार सम्भव नभए पछि घरमा नै मृत्यु भएको हो । घाइते बालिका उमाको देब्रे हात जलेर नचल्ने अवस्थामा छ ।

७ वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर पति सोमनाथको मृत्यु भएपछि तीन सन्तानको सहारा बनेकी गोमा देवीको पनि निधन भएपछि १६ वर्षीया नीशा, आठ वर्षीया नीता र कान्छी उमा बेसहारा भएका छन् । आमा घाइते भएपछि एस एल सी परीक्षा दिएकी नीता पनि अनुत्तीर्ण भएर मानसिकरुपमा विक्षिप्त बनेकी छन् । आमाको मृत्यु भएपछि छोरीहरुले उनको अन्त्येष्टीको लागि आवश्यक सामग्री पनि किन्न सकेनन् । छिमेकी रमेश गिरीले भने, ‘रिमाल परिवारले नहेरेपछि एक्लिएको उनको परिवार यति दु:खद घटना हुदा पनि उपस्थित भएन, छिमेकीले चन्दा उठाएर लाश उठायौं ।’

‘हाम्रो जीवन चलाउने एउटा सानो पसल थियो, त्यो पनि लुटियो, घरमा आगो लगाइदिए, तैपनि आमाले हामीलाई पालन पोषण गर्दै हुनुहुन्थ्यो, अब कसको शरणमा बाच्ने ?’, जेठी नीशाले भनिन्, ‘अपराधीलाई समेत छुटाउने षड्यन्त्र हुदैछ भन्ने सुनेकी छु, अब उनीहरुले हामीलाई पनि मार्छन् होला ।’ घटनामा संलग्नलाई कारवाही गरी आफूहरुलाई न्याय दिलाइदिन उनले माग समेत गरिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउका सन्दीप पौडेल र दीप तामाङलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ ।

बाबुआमा गुमाएका बालिका अहिले के खाने, भरे के खाने भन्ने चिन्तामा छन् । छिमेकीहरुले समेत सहयोग गरिदिन सबै पक्षसाग आग्रह गरेका छन् । आर्थिक अभावमा घाइते बालिकाको उपचार हुन सकेको छैन । अहिलेसम्म संकलित रकमले गोमाको उपचारमा खर्च गरिएकोले अब नानीहरुको शिक्षा र पालनपोषण गर्ने दाताको खोजीमा रहेको छिमेकीहरुले बताएका छन् । गोमाको किरिया कर्म गर्न समेत समस्या भएको उनीहरुको भनाइ छ ।

शनिश्चरेको लक्ष्मी माविमा पढ्दै आएका तीनैजना बालिकाले आमा घाइते भएपछि पढ्न छाडेका छन् । बालिकाकी मावली हजुरआमा तीलकुमारी सिलवालले शरण दिंदै आए पनि उनको आर्थिक अवस्था पनि कमजोर छ । चार छोरी र दुई छोरा मध्ये जेठी छोरीको मृत्यु भएपछि उनको परिवारको सबै जिम्मेवारी आफूमा आए पनि धान्न सक्ने अवस्था नरहेको उनले बताइन् । ‘घरमा तीनजना नाति छन्, अब तीनजना थप गर्दा कसरी रेखदेख गर्नु ?’ उनले प्रश्न गरिन् । ‘मुलुकमा मानव अधिकारकर्मी, महिला अधिकारकर्मी छन् भन्छन् तर गरीबलाई अन्याय पर्दा कसैले बोल्दैनन्, अब नातिनीहरुले न्याय पाउछन् भन्ने आशा गर्नु बाहेक केही रहेन ।’ मृतक रिमालको शनिबार नै पोष्टमार्टम गरी अन्त्येष्टी गरिएको छ ।

प्रेम आचार्य
स्रोत: अन्य पत्रीका 

,