निर्वाचनका लागि तयार रहन निर्देशन


एआईजी नवराज ढकालले आगामी मंसीर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउनका लागि शारीरिक र मानसिक रुपमा तयार रहन मातहतका प्रहरी/कर्मचारीलाई निर्देशन दिएका छन् ।

अनारमनी इलाका प्रहरी कार्यालयको नव निर्मित भवन शनिबार उद्घाटन गर्दै महानिरीक्षक ढकालले शहरी करणको विकास सगै सुरक्षा चुनौति थपिने हुदा कर्पोरेट सोसियल सुरक्षा प्रणाली अपनाउन पनि सुरक्षा निकाय र नागरिकलाई आग्रह गरे । आर्थिक अनुशासन, महिला तथा बालअधिकार, घरेलु हिंसा र जातीय विभेदमा प्रहरी संगठनले शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै उनले यसलाई अक्षरश: पालना गर्न निर्देशन दिएका थिए ।

कार्यक्रम झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले सज्जनको संरक्षण र अनियमितता गर्नेलाई कारवाहीका लागि कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी प्रशासन भएको स्पष्ट पार्दै समयको मागअनुरुप झापाका तीनवटा इप्रकामा डिएसपी नेतृत्वमा प्रहरी खटाइएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटीले इप्रका बिर्तामोडसागै रहेका यान्त्रिक कार्यालय र सडक डिभिजन कार्यालयको जमिन पनि इप्रकाको स्वामित्वमा ल्याउने पहल थाल्न प्रहरीलाई आग्रह गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष रविन कोइरालाले सुविधा सम्पन्न भवन निर्माण भएपछि इप्रका बिर्तामोडमा सवारी साधन र सुरक्षा व्यवस्थापनका लागि जनशक्ति तथा अन्य स्रोत पनि थप गर्न प्रहरी प्रधान कार्यालय सँग आग्रह गरेका थिए ।

भवन उद्घाटन समारोहमा एनेकपा माओवादीका इञ्चार्ज झलक सिंह दर्लामी, नेकपा–माओवादीका डिल्ली घिमिरे, उद्योग वाणिज्य संघ झापाका अध्यक्ष उमेश डालमिया, यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली, राप्रपा नेपालका केन्द्रीय सदस्य राजकुमार पोखरेल, महिला नेतृ पार्वता गिरी लगायतले बालेका थिए ।

प्रहरीका डिएसपी एवं प्राविधिक रामकुमार चौधरीले शान्ति तथा तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा १ करोड ५६ लाख पाच हजार एकसय ४५ रुपैया ५४ पैसाको लागतमा कार्यालय भवन र एउटा मेस सहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको आर्थिक प्रतिवेदन प्रस्तुत पेश गरेका थिए ।

स्रोत: अन्य पत्रीका

,