विश्वविद्यालय जोगाउन आन्दोलन

३ साउन

मोरङका आठ राजनीतिक दल पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीविरुद्ध आन्दोलनमा ओर्लिएका छन् । उच्च पदाधिकारीका कारण विश्वविद्यालय तहसनहस भएको उनीहरुको आरोप छ ।

दलका जिल्लास्तरीय नेताहरुले उपकुलपति, रजिष्ट्रारसहित पाँच पदाधिकारीको राजीनामा माग गर्दै आन्दोलन थालेका हुन् । सबै पदाधिकारी राजनीतिक भागबण्डामा नियुक्त भएका हुन् । नियुक्तिका लागि आफूलाई सिफारिस गर्ने दलहरु नै आन्दोलनमा ओर्लिएपछि पदाधिकारीहरु सङ्कटमा परेका छन् । दलहरुले उपकुलपति महेश्वरमान श्रेष्ठ, रजिष्ट्रार निरोज पाण्डे, डिन श्याम कटुवाल, निमित्त डिन शुभनारायण पाठक र निमित्त रजिष्ट्रार शम्भु कोइरालाको राजीनामा माग गरेका हुन् । दलले राजीनामा माग गरेपछि पाँचैजना सम्पर्क बाहिर छन् ।

एमाओवादी, कांग्रेस, नेकपा एमालेसहितका आठ दलका जिल्लास्तरीय नेता विश्वविद्यालय सुधारको एजेण्डामा एकजुट भएका हुन् । उच्च पदाधिकारीले मोटो रकम घूस लिएर कलेजलाई सम्बन्धन दिने गरेका कारण विश्वविद्यालय बदनाम भएको र घूसको भागबण्डा नमिल्दा आन्तरिक कलह उत्पन्न भएर विश्वविद्यालयमा सधैंजसो तालाबन्दी हुने गरेको उनीहरुको जिकिर छ ।

आठै दलका जिल्लास्तरीय नेताहरु विश्वविद्यालयका समस्या र पदाधिकारीले गरेका आर्थिक हिनामिनाको प्रमाण बोकेर कुलपति एवम् मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मी र शिक्षामन्त्रीलाई भेट्न बुधबार काठमाडौं गएका छन् ।

आन्तरिक विवादकै कारण उपकुलपति श्रेष्ठ र रजिष्ट्रार पाण्डेको कार्यकक्षमा सात महिना पहिले लागेको ताला अझै खुलेको छैन । त्यस्तै, रजिष्ट्रार पाण्डेले विश्वविद्यालयकै एक महिला कर्मचारीसँग अनुचित सम्बन्ध राखेको भन्दै कर्मचारी र प्राध्यापकले उनलाई दुई महिनायता विश्वविद्यालयमा प्रवेश गर्न दिएका छैनन् । कार्यकक्षमा जबर्जस्ती प्रवेश गर्न खोज्दा एक सातापहिले पाण्डेलाई कर्मचारी र प्राध्यापकले कालोमोसो दलेका थिए ।

दलहरुको आन्दोलनका अगुवा एमालेका मोरङ अध्यक्ष महेश रेग्मीले पदाधिकारीलाई नहटाएसम्म आठ दलको आन्दोलन नरोकिने बताए । विश्वविद्यालय भ्रष्टाचारको अखडा नै भएको रेग्मीले बताए । ‘विश्वविद्यालयले विभिन्न कलेजलाई सम्बन्धन दिदा लाखौं घूस लिने गरिएको र घूसबापतको रकममा भागबण्डा नमिल्दा आन्तरिक कलह हुने गरेको पाइयो ।’ उनले थपे । उनका अनुसार सामान्य कलेजलाई सम्बन्धन दिदा १० लाख र मेडिकल कलेजलाई सम्बन्धन दिदा १० देखि १५ करोडसम्म घूस लिएको पाइएको छ । उनले विश्वविद्यालयका पदाधिकारीले कलेजलाई सम्बन्धन दिने कार्यलाई व्यापार नै बनाएको प्रमाण आठ राजनीतिक दलसँग भएको जिकिर गरे ।

सम्बन्धन दिएका कलेजबाट आउनुपर्ने करिब ५ करोड विश्वविद्यालयको आम्दानी जम्मा भएको छैन । रेग्मीले अक्षयकोषमा जम्मा हुनुपर्ने अढाइ करोड रुपैयाँ पनि हिनामिना गरेको पाइएको जनाए ।

,