युनिटीसँग रकम लिएको छैनः पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे
२० असार:
पूर्वअर्थमन्त्री एवं एमाले पोलिट्ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले राजनीतिक चरित्र ध्वस्त पार्न युनिटी काण्ड उठाइएको आरोप लगाएका छन् ।
युनिटी लाइफ इन्टरनेशनल सँग ५ करोड रुपैयाँ लिएको आरोप पार्टी निकट पत्रिकाले लगाएको भोलिपल्ट रिपोर्टर्स क्लवमा बिहीबार पत्रकार सम्मेलन गरी उनले सुनियोजित रुपमा युनिटीकाण्ड उठाइएको बताए । 'युनिटीमा सम्बद्ध एक व्यक्तिलाई उद्धृत गर्दै पत्रपत्रिकामा समाचार छपाउनु बदनियतपूर्ण, सुनियोजित तथा राजनीतिक रुपले मेरो निजी र सार्वजनिक छविमाथि आँच पुर्याउने कुनियतले गरिएको दुष्कर्म हो भन्ने मेरो ठहर छ,' उनले भने ।
एमालेको मुखपत्र बुधबार साप्ताहिकमा युनिटी प्रकरणमा सुरेन्द्र माथि संगीन आरोप शीर्षकको समाचार छापिएको थियो । युनिटी लाइफलाई कारबाही गरेको भन्दै त्यस सम्बद्ध व्यक्तिले तत्कालीन अर्थमन्त्री पाण्डेको पुत्ला जलाएका थिए भने काठमाडौं लगायतका स्थानमा सडकजाम गरेका थिए ।
पाण्डेले पार्टीको महाधिवेशन नजिकिँदै चरित्र हत्या गर्ने नियतले आएका समाचारले धेरै आशंका जन्माएको बताए । 'म छानबिनकै चरणमा छु,' उनले भने, 'यो महाधिवेशनसाग जोडिएर आएको पनि हुन सक्छ ।'
पाण्डेले आफूले युनिटी प्रकरणमा कसैबाट पैसा लिएको प्रमाणित गर्न चुनौति दिए । 'जोसुकैले छानबिन गर्न सक्छ, पार्टी होस् या राज्य,' उनको भनाइ थियो, 'कहिं कतै संलग्नता पाए कारबाही भोगौंला ।'
युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले तत्कालीन अर्थमन्त्री पाण्डेलाई नगद र जिन्सी गरेर पाँच करोड रुपैयाँ दिएको आरोप लगाएका छन् । पाठकले पैसा दिएको आरोप पत्र एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको समाचारमा उल्लेख छ ।
स्रोत:अन्य


